उराउँ समुदायको करम पूजा धुमधामका साथ सम्पन्न
उराउँ समुदायको करम पूजा धुमधामका साथ सम्पन्नपुर्खाको स्मरणसँगै प्रकृति, कृषि, परिवार र सद्कर्मका लागि प्रार्थना
विराटनगर, असोज ११ गते ।
उराउँ समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व करम पूजा मोरङको कटहरी गाउँपालिका–५ मा धुमधामका साथ मनाइएको छ।
परम्परा, संस्कृति र पुर्खाको स्मरणसँग जोडिएको करम पूजामा उराउँ समुदायका महिला तथा पुरुषहरूले आफ्नै मौलिक लयमा गीत गाउँदै, बाजागाजा बजाउँदै नाचगान तथा पूजाअर्चना गरेका थिए।
करम पूजाका अवसरमा विशेषगरी भाइ–बहिनीबीचको आपसी सद्भाव, स्नेह, माया र प्रेम कायम रहोस्, कृषि क्षेत्रमा प्रकृतिले राम्रो फसल प्रदान गरोस् तथा आफ्ना छोराछोरी र परिवारका सदस्यहरूको दीर्घायु, सुख, शान्ति र उन्नति–प्रगति होस् भन्ने कामना गर्ने परम्परा रहेको उराउँ समुदायका अगुवाहरू बताउँछन्।
उराउँ समुदायले परम्परागत रूपमा भाद्र महिनाको शुक्लपक्ष एकादशी अथवा पूर्णिमाको अवसरमा करम पूजा मनाउँदै आएको बताइन्छ। करमलाई उराउँ समुदायका पुर्खाको प्रतीकका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ।
नेपाल उराउँ झागड कोरेन गुठियार केन्द्रीय कार्यालय, सुनसरीका संस्थापक महासचिव बाबुराम उराउँका अनुसार करम पूजामा उराउँ समुदायले आफ्नै मौलिक शैलीमा गीत, संगीत र नृत्य प्रस्तुत गर्दै धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ।
पूजाका क्रममा विभिन्न प्रकारका फलफूल तथा परिकारहरू लिएर करमको रुखमा गई पूजाअर्चना गर्ने र त्यसपछि करमको हाँगा काटेर खेतबारीमा ल्याई स्थापना गरी पुनः पूजा गर्ने चलन रहेको छ। खेतमा करमको हाँगा रोपेर त्यसलाई पुर्खाको प्रतीकका रूपमा श्रद्धा गर्ने परम्परा समेत रहेको समुदायका अगुवाहरू बताउँछन्।
उराउँ समुदायमा प्रचलित किंवदन्तीअनुसार करम पुर्खा दयालु स्वभावका थिए र समाज तथा राष्ट्रका लागि निरन्तर चिन्तन–मनन गर्ने धार्मिक पुरुषका रूपमा स्मरण गरिन्छ। करमले समाजका हरेक व्यक्तिलाई सद्कर्मको बाटोमा हिँड्न प्रेरणा दिएको विश्वास समुदायमा रहेको छ।
समुदायका अगुवा विष्णु उराउँ तथा महोत्सवका संयोजक दिलीप उराउँका अनुसार पुर्खा कर्मा करमले समाजका लागि वीरगति प्राप्त गरेको स्मरण गर्दै करम पूजा गर्ने गरिएको हो।
करम पूजामा फलफूल तथा विभिन्न परिकार चढाएर पूजा गर्नुका साथै परिवारको सुख–शान्ति, सन्तानको दीर्घायु, कृषि उत्पादनमा वृद्धि तथा समुदायको समृद्धिका लागि भाकल गर्ने परम्परा पनि रहेको उनीहरूको भनाइ छ।
कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उराउँ समुदायको धर्म, संस्कृति तथा मौलिक परम्पराको संरक्षणमा स्थानीय तह प्रतिबद्ध रहेको बताए।
त्यस्तै, कोशी प्रदेशका प्रदेशसभा सदस्य भीम पराजुलीले उराउँ समुदायले आफ्नो संस्कृति र परम्पराको संरक्षणका लागि आयोजना गरेको करम पूजा महोत्सव प्रशंसनीय रहेको बताए। उनले उराउँ समुदायको भाषा तथा संस्कृतिको संरक्षणका लागि राज्यस्तरबाट समेत आवश्यक पहल हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा अग्रभागमा रहने प्रतिबद्धता व्यक्त गरे।
करम पूजा केवल धार्मिक अनुष्ठान मात्र नभई उराउँ समुदायको इतिहास, पुर्खाप्रतिको सम्मान, प्रकृतिप्रतिको आस्था, कृषि जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको छ।
उराउँ समुदाय मोरङ, सुनसरी, सप्तरी तथा झापालगायतका जिल्लामा पुस्तौँदेखि बसोबास गर्दै आएको छ। पछिल्लो समय समुदायले आफ्नो भाषा, संस्कृति, कला, परम्परा र पहिचान संरक्षणका लागि विभिन्न सांस्कृतिक कार्यक्रम तथा महोत्सवहरू आयोजना गर्दै आएको छ।
— जहदा खबर

Comments
Post a Comment